News And Events

मधुमेह उपचारमा नयाँ आधार



 

विश्व मधुमेह दिवस

मधुमेह अहिले संसारभरि महामारीका रूपमा फैलिइरहेको छ। मधुमेह नियन्त्रणमा नराखेमा यसले दीर्घकालीन रूपमा गम्भीर जटिलता ल्याउन सक्छ। अहिले मधुमेहसम्बन्धी रोगमा धेरै अनुसन्धान भइराखेको छ। यसले गर्दा नयाँनयाँ उपचारका पद्धति विकास भएका छन्। मधुमेह नियन्त्रण गर्न एकदम जरुरी छ। किनकि कालान्तरमा यसले विभिन्न जटिलता ल्याएर दुःख दिने र आयु छोट्याउन सक्छ। मधुमेहमा धेरै अनुसन्धान हुने गर्छ र यी अनुसन्धानले मधुमेहको उपचारमा केही नयाँ कुरा बाहिर ल्याएको छ।

मधुमेहको राम्रो नियन्त्रण गरेमा माइक्रो भास्कुलर जटिलता जस्तै– आँखाको पर्दाको असर (रेटिनोप्पाथी) ७२ प्रतिशतले कम हुन्छ, मिर्गौलामा असर ( नेफ्रोेप्याथी) २१ प्रतिशतले कम हुन्छ। साथै खुट्टाको साना नसाहरूको असर (न्युरोप्याथी) ६० प्रतिशतले कम हुन्छ। तर मधुमेह नियन्त्रणमा राख्दैमा केही जटिलता कम नहुने कुरा देखियो। म्याक्रो भास्कुलर जटिलताजस्तै हार्ट अट्याक, मुटुरोग र पक्षाघात (स्ट्रोक) को सम्भावनालाई त्यति धेरै घटाएको देखिएन र केही ठूला अनुसन्धानले त झन् मधुमेहलाई चाहिनेभन्दा बढी नियन्त्रण गर्न खोजेमा मृत्युको सम्भावना बढेको देखियो। त्यसकारण मधुमेह नियन्त्रण गर्दैमा सबै किसिमका जटिलताबाट बच्न नसकिने देखियो। हालसालै केही नयाँ मधुमेहका औषधिले म्याक्रो भास्कुलर जटिलताजस्तै हार्ट एट्याक, मुटुरोग र पक्षघातबाट धेरै हदसम्म बचाउने अनुसन्धानबाट देखियो साथै तौल पनि राम्रो घटाउन सक्ने देखियो। यसमा दुई किसिमका औषधि एसजीएलटी२ इन्हिबिटर र जीएलपी१ एगोनिस्टहरू मुख्य हुन्। एसजीएलटी२ इन्हिबिटरहरू इम्पाग्लिफोजिन, क्यानाग्लिफोजिन र डापाल्गिफोजिन हुन्। जीएलपी१ एगोनिस्ट मुख्य लिराग्लुटाइड, डुलाग्लुटाइड र सेमीग्लुटाइड हुन्। अनुसन्धानमा इम्फाग्लिफोजिनले मुटुरोगबाट मृत्यु हुने सम्भावना ३८ प्रतिशतले घटाएको देखियो।

क्यानाग्लिफ्लोजिन भन्ने औषधिले मिर्गौलालाई बचाउने र मिर्गौला रोगबाट हुने सक्ने जटिलता धेरै कम गरेको देखियो। इम्पाग्लिफोजिनले हार्ट फेलबाट बचाउने देखियो। त्यस्तै लिराग्लुटाइड र डुलाग्लुटाइडले पनि मुटु र मिर्गाैलालाई बचाएको देखियो। इन्सुलिनलगायत मधुमेहको पुराना औषधिले मुटु र मिर्गौला बचाएर मृत्युदर कम गरेको देखिएको थिएन। यी नयाँ राम्रा औषधिका कारणले प्रकार दुई मधुमेहमा इन्सुलिनको भूमिका कम हँुदै गइरहेको छ। इन्सुलिनको आफंै समस्याजस्तै तौल बढाउने चिनीको मात्रा चाहिनेभन्दा कम (हाइपोग्लिसिमिया) गर्न सक्ने र मुटु र मिर्गौला बचाएर मृत्युको सम्भावना कम गर्न नसक्ने हुनाले इन्सुलिनलाई हिजोआज अन्तिम उपचार मान्ने गरिन्छ। तर प्रकार एक मधुमेह, गर्भावस्थामा र अस्पताल भर्ना भएका बिरामीमा इन्सुलिन नै चाहिन्छ।

मधुमेहको अनुसन्धानमा नयाँ कुरा अर्को के हो भने मधुमेहलाई विनाऔषधि जीवनशैली सुधारेर र तौल घटाएर निको पार्न पनि सकिन्छ भन्ने देखियो। मोटोपना भएकाहरूले खाना घटाएर तौल घटाएमा विनाऔषधि मधुमेह निको भएको देखियो। त्यस्तै अनिरन्तरव्रतबाट पनि तौल राम्रो घटेर मधुमेह नियन्त्रणमा ल्याउन सकिने देखियो। मधुमेह नियन्त्रणमा उपचारका साथ साथै नियमित जाँचपड्ताल पनि निकै जरुरी हुन्छ। हाम्रो समाजमा केवल खाली पेटको सुगर र खानापश्चात्को सुगर एफबीएस र पीपीबीएस हेर्ने गरिन्छ। मानिसको शरीरमा २४ सै घण्टा रगतमा चिनी हुनाले र एफबीएस र पीपीबीएस तलमाथि धेरै हुने भएकाले यसलाई मात्र उपयुक्त जाँच मानिँदैन। गएको तीन महिनादेखिको औसत सुगर देखाउने रगतको जाँच एचबीएएलभीलाई राम्रो जाँच मानिन्छ। हरेक मधुमेहीले एचबीएएलसी सात प्रतिशतभन्दा मुनि कायम राखेमा मधुमेहको दीर्घकालीन जटिलताबाट बच्न सकिन्छ। अहिले विभिन्न अनसुन्धानबाट मधुमेह जाँचका लागि निरन्तर रगतमा चिनीको मात्रा हेर्ने ‘कन्टिन्युअस ग्लुकोज मनिटर सिस्टम (सीजीएमएस)’ भन्ने यन्त्रले मधुमेह नियन्त्रणमा धेरै राम्रो भूमिका खेलेको देखियो। सीजीएमएस छालामा टाँस्न मिल्ने एउटा सानो यन्त्र हो, जसले मानिसको रगतमा चिनीको मात्रा निरन्तर रूपमा आफैं जाँच्छ। यसले गर्दा २४ सै घण्टा रगतमा सुगरको उतारचढाव थाहा भएर त्यसअनुरूप औषधि र खानपिनमा बदलाव ल्याएर मधुमेहको राम्रो नियन्त्रण गर्नलाई सजिलो हुने देखियो। प्रकार१ मधुमेहमा सीजीएमएसको भूमिका झन् ठूलो देखियो।

नयाँ औषधिले मधुमेहका बिरामीलाई मुटुरोग र मिर्गौला रोगबाट बचाएर मृत्युदर कम गराउन सक्छ।

मधुमेह नियन्त्रणमा प्रविधिको भूमिका पनि बढ्दै गएको छ। धेरै यन्त्रको विकास हुँदै गइराखेको छ। इन्सुलिन पम्म निरन्तर शरीरमा इन्सुलिन उपलब्ध गराउने यन्त्र हो। एकचोटि छालामा टाँसेपछि इन्सुलिन जति मात्रामा चाहिन्छ, त्यति मात्रा भई निरन्तर विनाइन्सुलिन उपलब्ध गराउन सक्छ। सीजीएमएस डिभाइस र इन्सुलिन पम्प दुवैको प्रयोगले मधुमेह नियन्त्रणमा धेरै प्रभावकारी भूमिका खेलेको अनुसन्धानले देखाएको छ। मुख्यगरी प्रकार१ मधुमेह र गर्भावस्थामा हुने मधुमेहका लागि। सीजीएमएस डिभाइस र इन्सुलिन पम्प एउटै यन्त्रमा गाभिएर बनाइएको कृत्रिम प्यांक्रियाजले प्रकार१ मधुमेहको उपचारमा क्रान्ति नै ल्याइदिएको छ। यद्यपि यी यन्त्र धेरै महँगो हुनाले आम बिरामीको पहुँचभन्दा बाहिर छ।

मधुमेहमा भइराखको धेरै अनुसन्धानले अहिले मधुमेहको इलाजमा धेरै परिवर्तन ल्याइराखेको छ। नयाँ औषधिले मधुमेहका बिरामीलाई मुटुरोग र मिर्गौला रोगबाट बचाएर मृत्युदर कम गराउन सक्छ। केही नयाँ यन्त्र र प्रविधिले मधुमेह नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सक्छ। साथसाथै जीवनशैली राम्रो बनाएर र तौल घटाएर मधुमेहलाई निको पार्न सकिने देखिएको छ।

—जोशी मधुमेह, थाइराइड तथा हर्मोन रोगका विशेषज्ञ हुन्।

 

© Copyright 2006 - 2020 Alka Hospital | All rights reserved